डडेल्धुरा : पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ। काठमाडौंको वीर अस्पतालमा क्यान्सर रोगको उपचार गराइरहेका पुराना नेता भट्टको गएराति निधन भएको हो।
राति साढे दश बजे अस्पतालमै उनको निधन भएको भतिज पुष्प भट्टले जानकारी दिए।
खेमराज भट्टको १९ असार २००७ सालमा डडेलधुराको भागेश्वर गाउँपालिका डुमरीमा बुवा भोजराज र आमा पार्वती भट्टको कोखबाट भएको थियो। उनका दुई छोरा छन्। श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो।
भट्टले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उतीर्ण गरेका थिए। डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाई सरपछि भने उनको राजनीतिक यात्रा सुरु भयो, नेपाली काँग्रेसबाट।
उनी छिट्टै उदीयमान नेताको रुपमा स्थापित भए। निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उनी जेल समेत परे। आठ वर्षसम्म जेल जीवन बिताएका थिए, मायालुले। नक्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहसँग भेट भयो, उनको।
जेलमा नेपाली काँग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराई पनि थिए। तर, उनी रामराजाप्रसाद सिंहसँग प्रभावित भए। २०३२ सालतिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा आन्दोलन भयो। जसमा मायालु पनि सहभागि थिए।
उनलाई गणतन्त्रका सेनानी पनि भनिन्थ्यो। सिंहको नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार र सिंहदरबारअगाडि बम विस्फोट गराएको थियो। मायालु त्यतिबेला जनवादी मोर्चाको महासचिव थिए।
तत्पश्चात उनले गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताए। पञ्चायती शासकले उनलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो।
२०४६ सालको जनआन्दोलनबाट पुनस्र्थापित बहुदलीय व्यवस्थामा उनी नेपाली कांग्रेसमा पुनः प्रवेश गरे। २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दियाबाट प्रतिनिधि सभामा उनी निर्वाचित पनि भए। २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए।
पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए। भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरूमध्ये एक हुन्। २०६४ सालको शान्ति प्रक्रिया पश्चात् २०७० सालमा उनी एकीकृत नेपाल कम्युुनिष्ट पार्टी (माओवादी)मा समाहित भई केन्द्रीय सल्लाहकार बने।
र, मृत्यु पर्यन्तसम्म पनि केन्द्रीय सल्लाहकार भई पार्टी र जनताप्रति निष्ठावान भइ आफ्नो कर्तव्य कुशलतापूर्वक निर्वाह गरे। उनको आजै पशुपति आर्यघाट अन्त्येष्टि गरिने छ।