काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको तालमेल मिलाउन आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्न लागेको हो ।
बैठक आज बिहान ९ बजेका लागि बोलाइएको जजनाइएको छ । आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि तालमेलका विषयमा छलफल भएको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार गरेको प्रस्तावअनुसार, आज गठबन्धनको बैठकमा तालमेल मिलाउन छलफल हुने जनाइएको छ।
गठबन्धनमा रहेका दलले काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिने र अन्य तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।
माओवादीले भरतपुर महानगर र एकीकृत समाजवादीले पोखरा महानगरको दाबी गरेको छ । त्यस्तै, जसपाले वीरगञ्ज महानगरको दाबी गरेको छ । त्यसैगरि ११ वटा उपमहानगरपालिकामा पनि दलहरुले दाबी प्रस्तुत गरेका छन् ।