कञ्चनपुर: कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएका छन्। सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन बनेका हुन्।
सरकारले करोडौँ मूल्यका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेपछि प्रयोगविहीन सञ्चालनका लागि चार विकल्प प्रस्ताव गरिएको छ। रक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो।
सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोगबारे अध्ययन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमितिले बनाएको थियो। उक्त उपसमितिले ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ वटा विकल्प प्रस्ताव गरेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए।
एक हजार क्षमताको संरचनाको ३० प्रतिशत विपद्को प्रयोगका लागि र बाँकी लागुऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिएको उनले बताए।
सालघारी क्षेत्रमा एक हजार शय्या क्षमताका २० ठूला शय्यासहितका संरचना, ५० शय्या क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भएका छन्।