काठमाडौं : गृह मन्त्रालयले झण्डै चार महिनादेखि सम्पर्कविहीन दुई जना चिकित्सकसँग स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, दिपायलमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा.केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा.बालकृष्ण ज्ञवालीलाई स्पष्टीकरण सोधिएको हो ।
आफूखुशी कार्यालयमा गैरहाजिर रहेका उनीहरुको नाममा सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको गृहले जनाएको छ । उनीहरुलाई चित्तबुझ्दो स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिइएको छ ।
‘आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत कार्यालयको सम्पर्कमा नआउनुभएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादसहित सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला’, आज जारी सूचनामा उल्लेख छ ।
त्यस्तै, तोकिएको समयभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसूरमा सोही नियमावलीको नियम १०९ को खण्ड (ख)(१) बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।