धनगढीः दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।
प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता उज्जल मर्हजनले बताए।
प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने मर्हजनको भनाइ छ।
ग्रामीण क्षेत्रमा कल–झगडा, चोरी तथा डकैतीका घटना हुन सक्ने भन्दै प्रहरीले गस्ती बढाउने भएको छ। प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहराले सुदूरपश्चिमका ९ वटै जिल्लामा चार हजार ७१ प्रहरी चाडपर्वको समयमा सुरक्षाका लागि परिचालन हुने बताए।