डडेल्धुराः डडेल्धुरामा ४८ जनामा डेंगु संक्रमण देखिएको छ। डडेल्धुरा अस्पताल र जोगबुडा अस्पतालमा गरिएको परीक्षणमा ४८ जनामा पोजेटिभ देखिएको हो।
पोजेटिभ देखिएकामध्ये डडेल्धुराका ३९, बैतडीका ६, बझाङका २ र डोटीका एक जना रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। आइतबार स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाममा आयोजना गरेको ‘डेंगु ज्वरोसम्बन्धी सरोकारवालाहरूसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’मा उक्त तथ्यांक प्रस्तुत भएको हो।
पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा साउनदेखि हालसम्म सबैभन्दा बढी जिल्ला सदरमुकामको अरमगढी नगरपालिकामा डेंगु संक्रमण देखिएको छ। अरमगढीका १५, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकाका ७/७, अजयमेरु र नवदुर्गा गाउँपालिकाका ४/४ तथा आलिताल र भागेश्वर गाउँपालिकाका १/१ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।
जिल्लामा डेंगु संक्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान पुनः सुरु गरिने भएको छ। सोमबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिने भएको हो।
यसका साथै स्वास्थ्य कार्यालयले जिल्ला सातवटै स्थानीय तहलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान थाल्न पत्राचार गरिसकेको कार्यालयका प्रमुख केशरबहादुर साउँदले बताए। उनका अनुसार साउन पहिलो साता पनि उक्त अभियान चलाइएको थियो।