काठमाडौं यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन दलले पाँचवटा महानगरपालिकाको भागबण्डा मिलाएको छ ।
सोमबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको दोस्रो बैठकले ६ महानगरपालिकामध्ये पाँचवटाको मागबण्डा टुंग्याएको हो । पाँचमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका लिने सहमति भएको छ ।
कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीले बताए ।
बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ । पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ ।
तर त्यहाँ कांग्रेसले पनि दाबी गरेपछि सहमति जुट्न नसकेको हो । अर्को बैठकबाट ११ वटा उपमहानगरपालिकाको भागबण्डा पनि मिलाउने भएको छ ।