कैलाली : बझाङमा गत मंगलबार गएको भुकम्पपछिको अवस्था बुझ्न आज बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भूकम्प पीडितले भेट्न नपाएको गुनासो गरेका छन् । पीडितहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी आफूहरुको समस्या राख्न नपाएको गुनासो गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड बझाङ आउने खबर पाएपछि सदरमुकाम पुगेका दुरदराजका भूकम्प पीडितहरुले समस्या राख्न पाउने आशा राखेका थिए ।
बिहानै एक घण्टाको बस यात्रा गरेर सदरमुकाम चैनपुर पुगेका थलारा गाउँपालिका( ९ सिरेटाका ज्ञानु दमाईले भने, ‘प्रधानमन्त्रीज्यूलाई केही समस्या सुनाउँला भनेर बिहानै आएको हुँ । भेटेर कुरा राख्न त के, देख्नै पाइनँ । पहिले बाढी पहिरोका बेला आएका प्रधानमन्त्री हेलिकप्टरबाट हेरेर जानुभयो । अहिलेका प्रधानमन्त्री भुईंमा त आउनुभएकै हो । तर, गाडीमै हुइँकेर प्रशासनभित्र छिर्नुभयो । हामी गेटमै रोकियौं ।’
जयपृथ्वी नगरपालिका( १० का शम्भु ओखेडाको पनि प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न नपाएको गुनासो छ । ओखेडाले पनि आफ्नै घर नजिकै भएर हिँडे पनि प्रधानमन्त्रीले एक शब्द नबोलेर जाँदा दुःख लागेको बताए ।
जयपृथ्वी नगरपालिका( ३ का वीरबहादुर ओलीले पनि प्रहरीले गेटमै थुन्दा प्रधानमन्त्रीसँग दुःखेसो पोख्न नपाएको गुनासो गरे । प्रधानमन्त्रीलाई धेरै कुरा राख्न आएका केही युवाले त झन् जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै सरकारविरुद्ध नाराबाजी गरे । उनीहरुले प्रधानमन्त्री भेट्न नदिइएको भन्दै आक्रोश पोखे ।प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै प्रहरीले उनीहरुलाई केहीबेर नियन्त्रणमा समेत लिएको थियो ।