धनगढी: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनताप्रति उत्तरदायी नभएको बताएका छन्। आज (आइतबार) एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आसा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताएका हुन्।
‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेर मात्रै हुन्छ ? ’ उनले भने, ‘जनतालाई माया नगरेपछि देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन।’
उनले वर्तमान सरकारबाट देशको रक्षा हुन सक्ने अवस्था नरहेको बताए। एमाले नेतृत्वको सरकार पछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीले टिप्पणी गरे।
‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो। हिंसा बढिरहेको छ। ७ प्रतिशत भन्दा माथि पुराइकोको यो गठबन्धनले २ प्रतिशत भन्दा तल झरिसकेको छ’ उनले भने, ‘देश अफ्ठेरो अवस्थामा पुगेको छ अझै अफ्ठेरो गतिमा पुराउनु हुँदैन।’
सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक प्रदेश, विकसित प्रदेश र समृद्ध प्रदेश बनाउन चाहेको बताएका थिए। प्रदेश अधिवेशन मार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने बताए।
‘एमालेबाट सुदूरपश्चिममा एमालेले चेतना ल्याउनु पर्छ। त्यो जिम्मेवारी अव आउने कमिटीलाई हुने छ। यस अधिवेशनबाट आउने कमिटीले नेतृत्वको भूमिका खेल्नु पर्छ’ उनले भने।