धनगढी : सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा युद्धको चपेटमा परी बेपत्ता र अलपत्र परेका आफ्ना विद्यार्थीको खोजी तथा उद्धारको लागि अपिल गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले विज्ञप्ति निकालेर उद्धार कार्यमा सहयोगका लागि नेपाल सरकार, कूटनीतिक नियोगहरू, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलगायत अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका हुन्।
विज्ञप्तिमा विश्वविद्यालयले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा सिकाइ अनुभव बटुल्ने उद्दश्यले इजरायल सरकारको सिकाइसँगै आर्जन (लर्न एन्ड अर्न) कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी गएको भदौमा इजरायल गएको उल्लेख छ ।
लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी गएको भदौमा इजरायल गएका हुन् ।
यस्तै चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका आफ्ना विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ ।
आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी अहिलेसम्म सुरक्षित रहेको जानकारी दिँदै विश्वविद्यालयले उनीहरुलाई स्थानान्तरण गर्न अनुरोध गरेको छ ।
विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालमा रहेको इजरायली राजदूतावास एवम् इजरायलमा नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो ।
विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजग रहन उनीहरुलाई अनुरोध गरेको छ ।