धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीलाई चयन गर्नेगरी सहमतिको खाका प्रस्ताव गरिएको छ ।
निर्वाचनको कार्यक्रम अघि बढे पनि जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्नेगरी मंगलबार सहमतिको खाका प्रस्ताव गरिएको हो ।
प्रदेशकाे नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेपछि सर्वसम्मत चयन गर्ने प्रयास थालिएको भए पनि यहाँ दुई प्यानलबीच भिडन्त हुने देखिएको छ ।
नेताहरू कर्णबहादुर थापा, लेखराज भट्ट र दामोदर भण्डारीबीच माेटामाेटी सहमति भइसकेकाे छ । उनीहरूले जैशीलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । उनीहरूको सहमतिकाे खाकामा उपाध्यक्षमा बाजुराका कालीबहादुर शाहीको नाम छ भने सचिवमा कैलालीका रणबहादुर चन्दकाे नाम छ।
यस्तै उपसचिव कैलालीका नेपालु चाैधरी र कञ्चनपुरका कलसा महराको नाम छ। जैशीलाई अध्यक्ष बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली पनि तयार छन्। तर, नेताहरू बीच अन्तिम निष्कर्ष भने निस्किएको छेन्।
एमाले सुदूरपश्चिम इन्चार्ज हरिलाल विश्वकर्माले सहमतिको प्रयास जारी रहेको बताए । तर, नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलको समर्थनमा उम्मेदवारी दर्ता गरेका भरत साउँद पछि हट्ने मनस्थितिमा छैनन् ।
यसैबीच, निर्वाचन कार्यतालिका पनि हेरफेर गरिएको छ। नेताहरू बीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया लम्बिदै गएको हो।
पार्टीको विधानमा टेकेर नै निर्वाचन कार्यतालिका परिमार्जन गरिएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उनका अनुसार उम्मेदवारी फिर्ता लिने समय बिहान साढे ९ बजेसम्म कायम गरिएको छ।
१० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो २ देखि साँझ ७ बजेसम्म मतदान गर्ने कार्यसूची तय गरिएको उनले बताए । नेताहरूबीच सहमति जुटेको अवस्थामा भने निर्वाचन नहुने उनी बताउँछन् ।