धनगढी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भएको २२ महिना भएको छ। यतिका समय हुँदा पनि सुदूरपश्चिमका ४ जिल्लाले महासमिति सदस्यको नामावली केन्द्रीय कार्यालय सानेपामा पठाएका छैनन्।
महासमिति सदस्यको नामावली नपठाउनेमा डोटी, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन्। केन्द्रीय महाधिवेशन हुनुअघि नै महासमिति सदस्य छानिइसक्नुपर्ने हो।
महाधिवेशन प्रतिनिधिले आफूहरू मध्येबाट महासमिति सदस्य चुन्न सक्ने विधानको व्यवस्था छ। कांग्रेसले २०७८ मंसिरमा नेतृत्व चुन्न महाधिवेशन गरेको थियो।
त्यसबेला सुदूरपश्चिमका ५ जिल्लाले मात्र महासमिति सदस्यको नामावली पठाएका थिए। सुदूरपश्चिमबाट बझाङ, अछाम, दार्चुला, बैतडी र डडेल्धुराबाट मात्रै महासमिति सदस्यको नामावली प्राप्त भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।
डोटीमा भने आज महासमिति सदस्यको निर्वाचन सम्मपन्न भइसकेकोले आज नामावली पठाउने तयारी गरेको छ।