काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोकेर जनतामा आशा जगाउन आफू मुख्यमन्त्री बनेको दाबी गरेका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्कीले संविधानवादलाई पार्टीले सकरात्मक लिने विश्वास व्यक्त गरे। उनले पार्टीभन्दा पनि सांसदको सामूहिक अठोटले नयाँ सरकार बनेको दाबी गरे।
उनले गठबन्धनमा उतारचढाव निरन्तर भइरहेकाले स्थिर सरकार बनाउन आफूले प्रयास गरेको धारणा राखे। सत्ता गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएकाले उनले नयाँ गठबन्धन बनाउन बाध्य भएको दाबी गरे।
‘गठबन्धनले पटक पटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न सकेन। दुई पटक प्राक्टिस गर्दा पनि पुगेन। हामीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न सांसदले प्रयोग गरेको हो, उनले भने, ‘यसलाई स्वभाविक रुपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ। संविधानले देखाएको बाटो अनुसार भएको हो। धैर्य गरे संविधान मान्ने पार्टी पनि यहि लाइनमा आउनेछ।’
कार्कीले आइतबार नयाँ मन्त्रिमण्डल गठन गर्ने जानकारी दिए। कार्की एमालेको समर्थनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीमा नियक्त भएका हुन्।