काठमाडौं : एसिसी यू१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भयो।
बहराइनलाई सस्तैमा अल आउट गर्न दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए।
बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए। उनी दुर्गेशको बलमा बोल्ड आउट भए।
एक समय १०.५ ओभरमा १७–४ को दयनीय अवस्थामा पुगेको बहराइनलाई पाँचौं विकेटका लागि हाकिम र अभिनवले १ सय १८ बलमा ४४ रनको साझेदारी गरेका थिए।
ओपनर तथा कप्तान ऋषभ रमेशलाई स्पिनर दीपेश कँडेलले ६ रनमा एलबीडब्लू आउट गरे। दीपेशले नै आयन ओबैद सैइदलाई ३ रनमा बोल्ड गरे।
तीव्र गतिका बलर दुर्गेश गुप्ताले मोहम्मद आदिल नवाज शेर लाल खानलाई शून्यमा बोल्ड गरे। दुर्गेशले साई सार्थक वैद्दराजुलाई २ रनमा उत्तमथापा मगरबाट क्याच आउट गराए।
आन्स ओबैद सैइद, विश्वश गुरुमुर्ति र शशांक शेखर शुक्ला शून्यमा आउट भए। नेपालका तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए।