विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन्। दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गर्ने गर्ने तयारी गरेका छन्।
पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा काठमाडौँमा छलफल जारी रहेको उनका सहयोगी दिवस राजवंशीले बताए।
एमालेले पथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको स्रोतको भनाइ छ। मन्त्रीले पनि आजै शपथ लिनेछन्।
यद्यपि मुख्यमन्त्रीसँग थप छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए। उनले पनि आफ्नो दलको उपनेता राना मन्त्री बन्ने सम्भावना बढी रहेका बताए।
मन्त्रिपरिषद्मा नेकपा एमालेलाई सहभागी गराउने वा सत्ता गठबन्धन दललाई समेटेर अगाडि बढ्ने भन्ने विषय टुङ्ग्याएर मुख्यमन्त्री ११ बजेको उडानबाट विराटनगर फर्कने तयारी छ ।
कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए।