डडेल्धुरा: डडेल्धुरामा ६८ औँ प्रहरी दिवस मनाइएको छ। विभिन्न कार्यक्रम गरेर मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पनि प्रहरी दिवस मनाएको हो । दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँचजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
जिल्लाभर कार्यरत प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने चारजना प्रहरी कर्मचारीलाई नगद पुरस्कार र असोज महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना प्रहरी कर्मचारीलाई असोज महिनाको उत्कृष्ट घोषणा गरी सम्मान गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुमबहादुर नायकले जानकारी दिए।
उनका अनुसार पुरस्कृत हुने प्रहरी कर्मचारीमा प्रहरी हवल्दार दीपेन्द्रबहादुर बम, प्रहरी जवानहरू ललित कोली, भुवनेश्वरीकुमारी धामी र विशाल भट्ट रहेका छन्। असोज महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट इलाका प्रहरी कार्यालय जोगबुढामा कार्यरत प्रहरी हवल्दार देवसिंह साउँद सम्मानित भएका छन्।
कार्यक्रममा अमर प्रहरी परिवारका तीन जना आश्रित आफन्तजनहरूलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ। अमर प्रहरी दिलबहादुर ऐर, धर्म मल्ल र कर्णबहादुर खड्काका परिवारलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसका साथै दिवसका अवसरमा आयोजित आन्तरिक भलिबल र ब्याटमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार दिइएको प्रहरी निरीक्षक नायकले जानकारी दिए।
‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा ज्ञानोदय विद्या निकेतनकी छात्रा प्रमिला बोहरा प्रथम, महेन्द्र माध्यमिक खलंगाकी छात्रा ज्योति ओझा द्वितीय र घटाल मावि नुवाकोटका आयुष्मा पाली तृतीय भएकी थिइन्।