काठमाडौं : दसैं मनाउन सुर्खेत हिँडेका नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ९ दिनदेखि प्रहरी हिरासतमा छन्। नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन्।
कात्तिक २ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
दसैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्र अदालती प्रक्रियाको काम सुरु हुने भएकाले नेता बाँस्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था छ।