धनगढी : भारतका उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शुक्रबार मध्यरातमा गएको भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
मुख्यमन्त्री धामीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भूकम्पमा परी धेरैको ज्यान गएको खबरले अत्यन्त दुखद बनाएको बताएका हुन्।
‘छिमेकी राष्ट्र नेपालमा गएराति गएको भूकम्पमा परी धेरैको ज्यान गएको खबर अत्यन्तै दुखद छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यो दुख सहन गर्ने शक्ति भगवानले प्रदान गरुन् भनी प्रार्थना गर्दछु,’उनले लेखेका छन्, ‘शोक सन्तप्त परिवारसँग मेरो समवेदना छ।’
गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी १४० जना घाइते भएका छन्।
Facebook Comments Box