काठमाडौं: भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संवेदनहीन राजनीति गरेका छन्। काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन्।
नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्को जिल्ला पठाइएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गरिएको थियो। नेता शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए।
बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिमतर्फ मोडिएको बताइएको छ।