जनकपुरधाम– महोत्तरीमा आफ्नै छोरीको हत्या गरेर नदीमा फाल्ने आमा आठ वर्षपछि पक्राउ परेकी छन् ।
दुई वर्षीया छोरीलाई हत्या गरेर नदीमा आएको बाढीमा फालेकी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–७ की रानी देवी मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनी अदालतबाट सजाय पाएको तीन वर्षपछि पक्राउ परेकी हुन्।
०७३ साल साउन १२ गते रानीले दुई वर्षीया छोरी प्रमिलाको हत्या गरेर नदीमा आएको बाढीमा फालेपछि उनकै श्रीमान् सूर्यनारायण मण्डलले जाहेरी दिएका थिए।
यस मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते २० वर्ष कैद हुने गरी फैसला सुनाएको थियो। फैसलापश्चात् फरार रहेकी रानीलाई बिहीबार बिहान राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
पक्राउ परेकी महिलालाई कैद भुक्तानका लागि कारागार कार्यालय राजबिराज सप्तरीमा पठाइएको प्रहरीले जनाएको छ।