क्यानडा : नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एन्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित शनिवार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो ।
निर्देशक गणेश पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरूमा अवार्डहरू जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।