धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ चित्रनगर घर भएका मनोज कुँवरले आफूले कुनै महिलालाई नसताएको प्रष्टिकरण दिएका छन्। महेन्द्रनगरले यहि मसिर १ गते ‘धनगढीमा महिलालाई ‘सताउने’ मनोजको आतंक’ शिर्षकमा प्रकाशित गरेको समाचारमा खण्डन गर्दै उनले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताएका छन्।
उनले मेलमार्फत हामीलाई प्रष्टिकरण पठाउँदै ती पीडित भनिएकी महिलाले नै आफूलाई धोका दिएर विवाहित पुरुषसँग सम्बन्ध बनाएको बताएका छन्। साथै उनले ती विवाहित पुरुष र उनकी पत्नीको बारेमा सामाजिक सञ्जालमा नानाथरी लेखिएको स्वीकार गरेका छन् । तर, ती विवाहित पुरुषकी पत्नीले सञ्चारमाध्यम प्रयोग गरेको आफ्नो बद्नाम गरेको मनोजको आरोप छ।
मनोज कुँवरमाथि एक महिलालाई विभिन्न प्रलोभन देखाएर शोषण गरेको आरोप लागेको थियो। साथै उनले ती महिलासँग अफेरमा बसिरहेको दाबी गर्दै एक दम्पत्तीलाई मानसिक यातना दिएको भन्दै महेन्द्रनगरले समाचार प्रकाशित गरेको थियो। त्योबेला मनोजको प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएका थिएनन्।