दार्चुला – हिजो विहिबारदेखि दार्चुला जिल्लाका ९ वटै पालिकामा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ ।
यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आर्चायले जानकारी दिए ।
सदरमुकाम पुरानो जिल्ला अदालतको कार्यालयमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै दार्चुला जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत आर्चायले पार्टीका झन्डा र चुनाव चिह्न सार्वजनिक सवारीसाधन र गाउँटोलमा देखिन थालिसकेको बताए।‘निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।
राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने तथा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचारसंहितामा उल्लेख रहेको उनले बताए ।
‘वैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयन दर्तालाई भीडरहित व्यवस्थित र पारदर्शी बनाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि राजनीतिक दलहरूसँग समन्वय गरी मनोनयन दर्ता टोकन प्रणालीमा लैजानुपर्ने हुन्छ। टोकन प्रणालीअनुसार दलहरू आएर उम्मेदवार मनोनयन दर्ता गरिँदा कर्मचारीलाई काम गर्न सहज हुन्छ।’
सञ्चारमाध्यमले निर्वाचन सम्बन्धी समाचार प्रकाशन गरिदिँदा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित र भयरहित बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई सहयोग पुग्ने उनको भनाइ छ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीले जिल्लामा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने आग्रह गरेका छन्। त्यस्तै हिजो अन्य ८ पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको जनाइएको छ।