डडेल्धुरा– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडाध्यक्षको चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले राजीनामा दिएका छन्।
जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरामा कार्यरत चन्द्रबहादुर देउवाले राजीनामा दिएका हुन् ।
ऐर र देउवाले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा राजीनामा पत्रमा बुझाएका हुन् । इकाई प्रमुख नारदप्रसाद जोशीका अनुसार २०४१ देखि स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ ।
देउवा २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए । देउवा नेपाली कांग्रेसबाट गन्यापधुरा–१ को वडाध्यक्षमा चुनाव लड्ने तयारीमा छन् । गन्यापधुरा–१ रुवाखोला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहवडा हो । यसैगरि ऐर नेकपा एकीकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुवना लड्ने तयारीमा छन् ।