काठमाडौं : प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोक सिग्देलको पनि जन्ममिति विवादमा परेको छ। उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक मिति देखिएपछि उनी विवादमा तानिएका हुन्। सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै यही मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ।
नेपाली सेनाले गत शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरिएको र उनकाविरुद्ध उजुरी भए एक साताभित्र दर्ता आव्हान गरेको छ। ‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन् उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,’ अख्तियारमा उपरथी सिग्देलविरुद्ध परेको उजुरीमा उल्लेख गरिएको छ।
उजुरीमा उपरथी सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेरबारे आवश्यक छानबिन गरी कारवाही गर्न अख्तियारसँग माग गरिएको छ। जन्ममिति विवादकै कारण केही दिनअघि अर्का उपरथी ताराध्वज पाण्डेले राजीनामा गरेका थिए। पाण्डेको राजीनामा स्वीकृत हुँदा नहुँदै सिग्देलको जन्ममिति विवादमा आएको छ।
यस्तै उपरथी ताराध्वज पाण्डेको राजीनामापछि उनीपछि तेस्रो बरियतामा रहेका उपरथी निर्मल कुमार थापा पनि छानबिनमा परेका छन्।
उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ । थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाण पत्र तह (आईए) को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् । उनले भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ।
बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन्।
उनीविरुद्ध एक साताभित्र उजुरी दिनसकिने जंगी अड्डाले जनाएको छ। यदि सिग्देल रथीमा बढुवा भएको खण्डमा आगामी भदौमा नेपाली सेनाको कमाण्ड सम्हाल्नेछन्।