धरान: धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा चोर्दै हिँड्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरानमै बस्दै आएका विकास साह रहेका छन्।
साहले कारमा सवार भएर धरानका फरकफरक मदिरा पसलमा मदिरा चोर्दै हिँड्ने गरेका थिए।
उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन्ने गरेका पाइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
कारमा सवार हुने उनले दर्जनौं व्यवसायीलाई ठग्नुका साथै ब्रान्डेड मदिरा चोरेर हैरान पारेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साह मंगलबार मदिरा व्यवसायीकै फन्दामा परेका हुन्।
उनलाई मदिरा चोर्दाचोर्दै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएको धरानस्थित मनकामना कोल्ड स्टोरका सञ्चालक रमेश हतुवालीले बताए। उनले केही दिनयता धरानका मदिरा पसलहरूमा ‘मोबाइल पे गर्छु’ भन्दै ब्राण्डेड रक्सी लिएर भाग्ने गरेका व्यवसायीले बताएका छन्।
साह मदिरा चोरी र ठगीका लागि बा ७ च ४४८० कार चढेर आउने गरेका थिए। उनीसँग संस्कृति पर्यटन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचय पत्र पनि भेटिएको छ।