काठमाडौं : दाङबाट हराएका एक बालक १० दिनपछि काठमाडौंमा भेटिएका छन्। तुलसीपुर उपमहानगरपालिका– ७ गणेशपुरका १२ वर्षीय आनन्द रेग्मी मंसिर ८ गते बिहान करिब साढे १० बजेदेखि सम्पर्कविहीन थिए।
कक्षा ६ मा पढ्दै गएका उनी हराएपछि परिवारले खोजीका लागि तुलसीपुर प्रहरीलाई आग्रह गरेका थिए। आनन्दका बुबा जीवराजका अनुसार घरबाट छोरा र ३५ हजार रुपैयाँ हराएको थियो।
प्रहरीले आनन्दको खोजीका लागि आनन्दको फोटो सार्वजनिक गरेको थियो। तस्बिर देखेका एक जना गाडीका कर्मचारीले आनन्द काठमाडौंको माछापोखरीमा झरेको सूचना प्रहरीलाई दिएका थिए।
त्यसपछि खोजी गर्ने क्रममा आइतबार काठमाडौंको बसपार्क क्षेत्रमा हिँडिरहेका बेला आनन्द फेला परेका थिए। बालकले बताएअनुसार सुरुमा उनी काठमाडौं आएछन् र फर्केर नेपालगन्ज गएछन्। त्यसपछि उनी सुर्खेतको वीरेन्द्रनगर गएछन्। त्यहाँ चार हजार रुपैयाँमा साइकल पनि किनेका रहेछन्।
बसमा साइकल राखेर उनी फेरि त्यहाँबाट काठमाडौं आएका थिए।