धनगढी : कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ। यसअघि भारतीय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ।
नेपाली पक्षले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन सुरु गरेको हो।
सशस्त्र प्रहरीले सिमा पिल्लरहरुको मर्मत तथा रङरोगन गर्ने छ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ बङ्गग्राकटान स्थित ७४९/१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो।
एक औपचारिक कार्यक्रम गरी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल नम्बर ७ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपाने, धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारी, वडा नम्बर १० का अध्यक्ष शिव कुमार राना लगायत भारतिय सिमा शुरक्षा बलका प्रतिनिधी सहितको उपस्थितीमा सशस्त्र प्रहरीले सिमा स्तम्भमा रङरोगन शुरु गरेको हो।
कञ्चनपुरमा भने पुनर्वास नगरपालिकाको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको हो।
यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले बताए।
बिजोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गरिसकेको छ।
उनले भने, ‘कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नम्बर ३५ गण मुख्यालय र कैलालीमा नम्बर ३४ गणले सिमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने छ।’
कैलालीमा रहेका १ सय ३ वटा सिमा स्तम्भ सशस्त्र प्रहरी कैलाली नम्बर ३४ गणले मर्मत तथा रङरोगन गर्ने उनले बताए। कञ्चनपुरका ६६ सिमा स्तम्भ सशस्त्र प्रहरीको ३५ नम्बर गण कञ्चनपुरले मर्मत तथा रङरोगन गर्ने न्यौपानेले बताए।