महेन्द्रनगर : कैलाली र कञ्चनपुरमा सशस्त्र प्रहरी बलद्वारा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगनको काम सुरु भएको छ ।
यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ ।
कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।
कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य सुरु गरेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको उपस्थितिमा डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु भएको बताए।
उनले विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मतरसम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताए । पछिल्लो केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको छ ।