धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई डडेल्धुराबाट गरेको फोन संवादका क्रममा देउवाले बालकृष्ण खाँणलाई छुटाइदिन आग्रह गरेको खुलेको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटबाट अगाडि बढ्दै डडेल्धुरा पुगेपछि ओलीले देउवालाई फोन गरेका थिए। ओली र देउवाबीचको कुराकानीको भिडियो ओलीले सामाजिक सञ्जाल फेसबुकमा हालेका थिए।
सामाजिक सञ्जालमा फोनवार्ताको ४२ सेकेण्डको भिडियो राख्दै ओलीले देउवाले काठमाडौंबाट डडेल्धुरामा स्वागत गरेको उल्लेख गरेका थिए।
‘जय नेपाल’ भन्दै कुराकानीको सुरुवात गरेका उनले देउवासँग फोनमा भनेका थिए, ‘यहाँ गन्यापधुराको छेवैबाट फोन गरेको। गन्यापधुरा भन्दा अलि पर्तिर यहाँ डडेल्धुरा बजारभन्दा अलि तल्तिर बसेका छौँ।’
उनले देउवालाई भनेका छन्, ‘राम्रो छ यतातिर। तपाईंको जिल्लामा आएको बेला यसो सम्झिएको नि!’
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच फोन संवाद भएको समाचार त सुनियो। तर, कुरा के भयो ? सम्पूर्ण विवरण बाहिर आएको थिएन।
उक्त दिन देउवाले ओलीलाई भनेका थिए, ‘अदालतमा तिम्रा धेरै मान्छे न्यायाधीश छन्, बालकृष्णलाई छुटाउन सहयोग चाहियो यार !’
अछाम पुग्दानपुग्दै बाटोमा ओलीले सँगै गएका कृष्णगोपाल श्रेष्ठहरुसँग भने, ‘बालकृष्ण खाँणलाई छुटाइदेऊ भन्छन् !’
देउवाको गृहजिल्ला टेकेर फोन गरेका ओलीले जब त्यस्तो आग्रह सुने, त्यसबारे भने, ‘बालकृष्णको कुरा गर्नेले टोपबहादुरलाई पनि छुटाउनुपर्छ चाहिँ किन नभनेको होला ?’
एमालेले झुलाघाटबाट शुरु गरेको मध्यपहाडी यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुर्याएर टुंग्याइँदैछ।