काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् ।
मन्त्री साउदको सचिवालयका अनुसार शुक्रबार बिहान भएको टेलिफोन संवादमा इजरायली विदेशमन्त्री काहेनले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिएका छन् ।
‘विपिन जोशीको रिहाइका बारेमा हामीले आफ्नो तर्फबाट सकरात्मक प्रयास गरिरहेका छौँ । यसअघि युद्धविरामको समयमा रिहाइ गर्ने भरपुर कोशिस गरिएको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौँ’, इजरायली विदेशमन्त्री कोहेनले साउदसँगको टेलिफोन संवादका क्रममा भने ।
परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औँ फोरम’ मा सहभागी हुन शनिबार कतार जान लागेका छन् । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।
यसअघि ८ मंसिरमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा पनि रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।