धनगढी: कैलालीका सीमानाकामा प्रहरीले रकम उठाउने गरेको पाइएको छ। जिल्लास्थित नेपाल-भारत सीमानाकामा प्रहरीले सवारी लगायत वारीपारी गर्नेहरूबाट रकम उठाउने गरेका हुन्।
विशेष गरि यो असुली धन्दा धनगढीको त्रिनगर भन्सार नाका क्षेत्र र उता पारिको डोकेबजार क्षेत्रमा मौलाएको छ। जहाँ ट्राफिक प्रहरीले पैसा असुल्छ। यस्तै पुलमा रहेको त्रिनगर चौकीको नेपाल प्रहरीको ड्युटीले पनि कोप्चामा लगेर पैसा लिने गरेको सवारी चालकले बताएका छन्।
विशेषगरी उनीहरुले नेपाल-भारत चल्ने ट्याक्सीहरुबाट एकलटको २ सयदेखि ५ सय र हजार रुपैयाँसम्म उठाउने गरेका हुन्। पैसा नदिए गाडी नै चल्न नदिने धम्की दिदै भन्सारसहितको मिलेमतोमा प्रहरीले असुली धन्दा चलाएको सवारी चालकहरुको गुनासो छ।
एक सवारी चालकले नाम नखुलाउने शर्तमा आफूले एक ट्रीपको १ हजार त प्रहरीलाई बुझाउनुपर्ने बाध्यता रहेको बताए। पारी भारतीय प्रहरीले २ सय भारु र अन्य नेपालको प्रहरीलाई अनिवार्य रकम बुझाउदै सवारी चलाइरहेको उनको दाबी छ। तर यता प्रहरी चौकी त्रिनगरका प्रमुख रमेश खड्काले भने आफूलाई असुलीको सन्दर्भमा थाहा नै नभएको जिकिर गरे।
उनले नाकामा असुली भैरहेको विषयमा अन्जान बन्दै अब अनुसन्धान गरिने जनाए। जबकी चौकी प्रमुखकै मातहतको ड्युटी त्यहाँ खटाइएको हुन्छ। स्रोतका अनुसार सो संकलित रकम हाकिमसम्मै पुग्ने गरेको हुन्छ।