काठमाडाैं: हमासले बन्धक बनाएका भनिएका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीम मूल घर भइ कञ्चनपुरमा बस्दै आएका जोशी गएको असोज २० गतेदेखि हमासको नियन्त्रणमा रहेका बुझिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत जोशी भदौ अन्तिम साता इजरायल गएका थिए। उनीसंगै ४९ जना विद्यार्थीहरु इजरायल पुगेका थिए । ती मध्ये विद्रोही समूह हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो।
हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन्।
परराष्ट्रमन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।