धनगढी: बैतडीको सुर्नया गाउँपालिका-३ मा एक महिलाको हत्या गरिएको छ। सुर्नया गाउँपालिका-३ को बिजुल भन्ने ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ वर्षीया हरिना बिष्टको बीभत्स हत्या गरेका हुन्।
प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको घरमै गएर मंगलबार दिउँसो धारिलो हतियार प्रयोग बीभत्स हत्या गरेका हुन्। घरमा महिला एक्लै भएको मौका छोपेका चन्दले ती महिलालाई लखेटेका थिए।
त्यसपछि ती महिला घरभित्र पसेकी थिइन्। चन्दले सब्बलको प्रयोग गरी ढोका फोडेर भित्रै गई सब्बल र हसिया प्रयोग गरी हत्या गरको स्थानीय भुवन भट्टले जानकारी दिए। चन्दले २ बाख्रा पनि काटिदिएको उनले बताए।
आरोपित चन्द अहिले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए। स्थानीयका अनुसार मृतक बिष्टको शव क्षतबिक्षत अवस्थामा घरको ढोकामा फेला परेको थियो। त्यो दिन मृतक बिष्टका श्रीमान गोठाला थिए।
अहिले चन्दलाई थुनेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।