धनगढी : कैलालीको धनगढीमा जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्ड लागु हुने भएको छ। धनगढी उपमहानगरपालिकाले ‘जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८०’ ल्याउँदै सोमबारदेखि नयाँ मापदण्ड लागु गरेको हो।
शहरी विका तथा भवन निर्माण मापदण्ड, बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड क अनुसार नयाँ कार्यविधि बनाएर लागु गरिइको उपमहानगरपालिकाले जनाएको छ।
उक्त कार्यविधिअनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाई कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाईको पानी पिच गर्नुपर्ने व्यवस्था गरिएको छ।
सडकको दुवैतर्फ पानी बग्ने गरि नगरले तोकेको मापदण्डअनुसार नाला निर्माण गरेको हुनुपर्ने कुरालाई समेत कार्यविधिले समेटेको छ। घडेरीको चौडाइ अर्थात् मोहडा न्यूनतम ८ दशमलव ५ मिटर, घडेरीको लम्बाइ न्यूनतम २० मिटर, घडेरीको प्लट रेसियो १ अनुपात २ दशमलव, घडेरीको क्षेत्रफल सहरी क्षेत्रमा कम्तिमा ७ धुर र कृषि क्षेत्रमा २ कट्ठा र अन्य क्षेत्रको घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्नेछ।
उपमहानगरपालिकाल सोमबार स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधिमा तीव्र शहरीकरण, जोखिम न्यूनीकरण, विपद व्यवस्थापन गर्न जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई व्यवस्थित गर्नुपर्ने भएकाले कार्यविधि ल्याइएको उल्लेख गरिएको छ।
कार्यविधिको दफा ७ मा नयाँ बाटोको घुम्ती वा मोडको न्यूनतम बाटोको चोडाई भन्दा २० प्रतिशतले बढि हुनुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिको दफा ८ मा जग्गा प्लटिङ गर्दा जोखिम न्यूनीकरण, विपद व्यवस्थापन, वातावरण सन्तुलन तथा हरित नगरलाई पनि सम्बोधन हुनेगरी कम्तीमा पनि ५ प्रतिशत जग्गा खुल्ला राख्नुपर्ने उल्लेख छ।
त्यसरी खुल्ला राखिएको जग्गामा वृक्षारोपण, सार्वजनिक धारा,शौचालय, सूचना पाटी, खेल मैदान, बाल उद्यान वा सार्वजनिक भवनका लागि छुट्याउनुपर्ने भनिएको छ।
पैत्रिक सम्पत्ती बेचबिखन र अंशबण्डा गर्दाको अवस्थामा भने उक्त कार्यविधिमा भएको व्यवस्था लागु नहुने उपमहानगरपालिकाले जनाएको छ। जग्गा प्लटिङ गर्ने व्यक्तिले समेत उपपमहानगरपालिकाबाट इजाजत पत्र लिनुपर्नेछ।
हेर्नुहोस् कार्यविधि :