डडेल्धुरा : डडेल्धुराका एक सरकारी कार्यालयका हाकिमले डडेल्धुरामा काम गर्न नसक्ने भन्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका छन्।
डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले डडेल्धुरामा काम गर्न नसक्ने भन्दै सरुवा गरिदिन मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका हुन्।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार डीएफओ तिवारीले केही दिन अघि मात्रै मन्त्रालयमा निवेदन दिएका हुन्। उनी अहिले काठमाडौंमा छन्।
विकासे बजेटमा अत्यधिक कमिसन माग गरेपछि उनले कर्मचारीलाई कार्यक्रम र बजेट बाँडफाँड गर्न नसकेको वन कार्यालय स्रोतको भनाइ छ।
स्रोतका अनुसार उनले व्यक्तिगत स्वार्थ पूर्ति नभएपछि घाटगद्दिमा रहेको काठलाई दुईपटक छुट पुर्जी दिएका छन्। जुन गलत हो।
‘परशुराम नगरपालिका-६ स्थित सिद्धनाथ मावि चन्दनी हाताभित्र रहेको काठ विद्यालयको लगानीमा काठ काट्न लगाएको भएपनि उनले व्यक्तिगत स्वार्थ पूर्तिका लागि ठेकेदारसँगको मिलेमतोमा काम अगाडि बढाएका छन्,’ स्रोतले भन्यो, ‘तर, विद्यालयले आफूले पाउनु पर्ने काठ वाफतको पैसा पाउनका लागि मुद्दा लड्नु पर्ने अवस्था सिर्जना भएको छ।’
डीएफओ तिवारी काठमाडौं जाँदा समेत उनले सीनियर कर्मचारीलाई निमित्तको जिम्मेवारी दिन छोडेर जुनियर कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर गएका छन्।
उनी कञ्चनपुर हुँदा समेत कार्य सम्पादन चुस्त दुरुस्त गर्न नसकेको भन्दै विवादमा मुछिएका थिए। यस विषयमा डीएफओ तिवारीसँग बुझ्न खोज्दा उनको फोन उठेन्।