डडेल्धुरा : ‘राजनीतिक पावर’ लगाएर डडेल्धुराबाट सरुवा गराइएपछि दुई हाकिमले मन दुखाएका छन्।
मन दुखाउनेमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका हाकिम देवराज भट्ट र कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालीन हाकिम रामचन्द्र भट्ट रहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवराजले ३ वर्ष २ महिनाको बसाइँमा साथ सहयोग दिने प्रति आभार गर्दै आफ्नो सरुवा भएको प्रति चित्त दुखाएका छन्।
भेटेनरी अस्पतालबाट बिदाइ गरिएको फोटो राख्दै उनले लेखेका छन्, ´मेरो पारिवारिक सदस्यहरूको पृष्ठभूमिसँग जोडेर रगत सम्बन्धको पटक्कै ख्याल नगरी म प्रति निर्मम असहिष्णु भएकाहरूलाई सिर्फ सहानुभूति व्यक्त गर्दछु।`
देवराजको पोष्टमा कमेन्ट् गर्दै रामचन्द्रले लेखेका छन्, ´ असहिष्णु प्रति मेरो पनि सहानुभूति छ। आगामी गन्तव्य सुखद रहोस् सर। हामी प्रती असहिष्णु हुनेहरूका लागि पनि असहिष्णु भेटिने छन्।`
रामचन्द्रको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमको भदौ २७ गतेको निर्णय अनुसार कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सरुवा गरिएको थियो भने देवराजको केही दिन अघि मात्रै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमले पशु सेवा केन्द्र धनगढी सरुवा गरेको थियो।
देवराजको सेवाकालिन अवधि सकिन थोरै समय रहेकोले उनी डडेल्धुरानै बस्न चाहेका थिए।
तर, नेपाली काँग्रेस विपीका नेता हरीप्रसाद भट्टका सहोदर दाइ भएकोले उनलाई केही व्यक्तिले नरुचाएर सरुवा गरिएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार भदौमा नियमित सरुवाका क्रममा नभएको उनको सरुवा राजनीति दबाबले कार्तिकमा भएको थियो।
कृषि ज्ञान केन्द्र कञ्चनपुर जान चाहेका रामचन्द्रको राजनीति दबाबले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरमा सरुवा गरिएको थियो।