डडेल्धुरा : अमरगढी नगरपालिकाले प्रहरी परिचालन गरेर मालम दोबाटो (हुँलाक डाँडा) मा फोहोर फाल्न खोजेपछि स्थानीय र प्रहरीबीच मुठभेड भएको छ।
३/४ दिन यता मालम दोबाटोमा स्थानीयले फोहोर फाल्न नदिएपछि जिल्ला सदरमुकाम अमरगढीको फोहोर उठ्न पाएको थिएन।
तर, शनिबार नगरपालिकाले प्रहरी परिचालन गरेर फोहोर फाल्न खोजेपछि स्थानीयले अवरोध जनाएका थिए। स्थानीयले फोहोर लगेर गएको ट्याक्टरलाई रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
सोही समयमा स्थानीय र प्रहरीबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो। अमरगढीले प्रहरी परिचालन गरेर दादागिरी देखाउन खोजेको भन्दै त्यसको परिणाम भोलि देखाउने मालमबासीले धम्की दिएका छन्।
यसअघि पनि मालम दोबाटोमा फोहोर फाल्न नदिने भन्दै मालमबासीले अमरगढी नगरपालिका घेराउ गरेका थिए।
आफ्नो घरजाने सडक(मालम दोबाटो) छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले साउन २२ गते आन्दोलित बनेका थिए।
उनीहरुले बसपार्कबाट जुलुस निकालेर नगरपालिकानै घेरेपछि फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच दुई बुँदे सहमति भएको थियो।
सहमतिअनुसार फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन गर्ने भनिएको थियो। त्यस्तै हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी उक्त फोहोरका कारण आसपासका क्षेत्रका बासिन्दालाई थप नहुने र तीन महिनाभित्र नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन गर्ने दुवै पक्षबीच सहमति भएको थियो।
तर, नगरपालिकाले दिएको म्याद सकिँदा पनि कुनै पहल नभएकाले मालमवासीले नगरपालिका, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका थिए।
फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ।
सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ।