काठमाडौं : जीवन समर्पित गरेको जागिरमा बढुवा भएको कसलाई मन नपर्ला र ! झन् सुरक्षा निकायमा बढुवाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। कामको मुल्यांकन नै बढुवाले गर्ने भएकाले सबै कर्मचारीले त्यो सपना देखेका हुन्छन्।
यस्तै एउटा सपना देखेका थिए, रबिन्द्र (रमेश) भट्टले। पहाडी जिल्ला डडेल्धुराबाट राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका उनी अनुसन्धान सहायक (असई)को रुपमा कर्यरत थिए।
हाल कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल बस्दै आएका उनी केही दिनअघि बढुवा भएर असईबाट सई भएका थिए। तर, उनी ड्युटी गर्दागर्दै बढुवा भएका हैनन्, उनको बढुवा अस्पतालको शय्यामा सुतेका बेला भएको थियो। त्यसको मतलब अनुसन्धान विभागले उनको कामको मुल्यांकन गर्दै बढुवा गरेको थियो, त्यो रबिन्द्रका लागि गलत समय पर्यो। तर, बढुवा भएको भोलिपल्टै उनले संसार छाडे।
राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए। त्यसपछि घाइते भएका उनको निसर्ग हस्पिटलमा उपचारका भइरहेको थियो। बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको थियो।
मंगलबार घाइते भएका उनको उपचारकै क्रममा बढुवा भएको राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले बताए। ‘बढुवा भएपछि उनी(रबिन्द्र भट्ट)लाई होस पनि आएको थियो। थप उपचारका लागि काठमाडौं ल्याउने कुरा थियो तर उनी बिते’ ती अधिकारीले भने।