धनगढी : कुनैबेलाको चर्चित नाम, तक्की दाई अर्थात् तक्की खानको निधन भएको छ। सोमबार राति ८० वर्षको उमेरमा तक्कीको निधन भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोल निवासी तक्कीको सोमबार राती निधन भएको हो। भारोत्तोलन र कुस्तीका पूर्वराष्ट्रिय खेलाडी समेत हुन्, तक्की।
मुस्लिम समुदायका खानलाई पश्चिम नेपालमा प्रायःले चिन्छन्। कुनै समय भीमकाय शरीर, लामो दारी हेर्दै डर लाग्ने खानलाई सडक बजारमा आयो भने तक्की आयो, तक्की दाई आयो भनेर हेर्नेको भीड लाग्थ्यो।
धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए।
सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक रहेका थिए। उनले काठमाण्डौमा समेत पूर्व राजा महेन्द्र शाहको निगरानीमा करिब ४ महिना डोजर चलाएका थिए।
त्यहीँबाट भारत्तोलन खेल्न सुरु गरेका तक्कीले देशभर बिभिन्न ठाँउमा भएका खेलमा ४५भन्दा बढी पदक जितेका थिए। नेपालबाट भारत्तोलन खेल्न बंगलादेश पनि पुगेका थिए, उनी।
उनले थुप्रै नेपाली चलचित्रमा खलनायको भूमिका पनि निर्वाह गरेका थिए। सो समयमा तक्कीको चर्चा यतिमा मात्रै सीमित थिएन्। कुनैबेला धेरै खाना खाने व्यक्तिका रुपमा पनि उनी चिनिए।
बढी खाने हुँदा होटल रेस्टुराँले खाना नदिएर भोकै फर्किनुपर्ने स्थिति पनि थियो।
कहिलेकाहीँ खानका लागि भेष नै पनि बदल्नुपर्यो। जीवनमा अनेक परिचयसँगै चर्चा पाएका खान केही समयदेखी बिरामी थिए। गएराति उनको निधन भएको हो।