महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भइरहेको बताए।
विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख वासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्त्वपूर्ण वासस्थान छ। हाल यहाँ बाघ गणना भइरहेको छ।
निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गस्ती गर्ने गरेका छन्।
निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुबेला गरी तीन स्थानमा हात्तीसार छन्। एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुते, पछुवा र फणित गरेर तीन कर्मचारी खटिँदै आएका छन्।
विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जारी बाघ गणनाको नजिता आगामी वैशाखसम्म सार्वजनिक गरिनेछ।