धनगढी: कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा सेटिङ भएको बुझिएको छ। खोलाका माफियाहरुकै कब्जा रहेको सो ठेक्कामा नगरपालिकादेखि प्रदेश सरकार र अख्तियारसम्मै सेटिङ गरिएको बुझिएको हो।
जसमा पुरै महाकाली नदीको इआइए गरेर ठेक्का लगाउनुपर्नेमा घाटहरुको अलग अलग आइईई गरेर ठेक्का लगाइएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार ढिलोगरी ठेक्का लगाइएको महाकालीको रोयल्टीमा अख्तियारका आयुक्त समेत रहेका जयबहादुर चन्दलाई अख्तियार मिलाउन जिम्मा दिइएको छ। जसका लागि रकमको समेत मोलमोलाइ भएको स्रोतको दाबी छ। लाखौं रकम दिएर भएपनी अख्तियारसमेत मिलाउने सेटिङ गरिएको स्रोतको भनाई छ।
विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि महाकालीको ठेक्का हत्याएको छ।
झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभी हात पारेको हो। निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको हो। सो कम्पनीका तर्फबाट ठेकाको सम्झौताको अख्तियारी भने रमेश बोहराले लिएको बताइन्छ।
यस्तै यो कम्पनीले सेटिङमा ठेक्का हात पारेको आरोप समेत लागेको छ। किनकी यस कम्पनीका हर्ताकर्ता रहेका तेजबहादुर उनै मान्छे हुन्, जसको विगतका वर्षमा महाकालीको रोयल्टीको ठेक्कामा भएको भ्रष्टाचारमा सहभागिता थियो। उनी बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे आफन्तसमेत हुन्। उनैले अख्तियार मिलाउन जयबहादुरलाई मिलाएको बुझिएको छ।
महेन्द्रनगरमा आफ्नै क्रसरसमेत रहेका चन्दले सेटिङ मिलाएर नदीजन्य पदार्थको ठेक्का हत्याएको स्रोतको दाबी छ। यस्तै हालको ठेक्का हात पार्ने कम्पनीमा अख्तियारको मुद्दा लागेर अहिले पनि झेलिरहेका दिवाकर भट्ट पनि सहभागी छन्। उनको पनि विगतको रोयल्टी ठेक्कामा भ्रष्टाचार गर्न भूमिका रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दा अझै किनारा लागिसकेको छैन।
उनीहरु मात्र होइन, विगतका दुई आर्थिक वर्षमा महाकाली नदी रोयल्टी संकलन कार्यमा अनियमितता भएको भन्दै पूर्वजनप्रतिनिधि (तत्कालीन जनप्रतिनिधि), कर्मचारी र कम्पनीका मान्छेहरु समेत अख्तियारको मुद्दा खेपिरहेका छन्।
अहिले पनि सो भ्रष्टाचारी ग्रुपकै मान्छेहरु समेत सहभागी रहेको कम्पनीले ठेक्का पाउदा अनियमितता र सेटिङको गन्ध देखिएको छ। यसअघि गत आर्थिक वर्ष ०७८/७९मा भीमदत्त नगरपालिकाले अमादी र दोधाराचाँदनी नगरपालिकाले ठेक्का लगाएको थियो।
अहिलेको चालू आर्थिक वर्षमा भने दुवै नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको हो।
सम्बन्धित समाचार :
महाकालीमा माफियाकै कब्जा, सेटिङमा ठेक्का !