दार्चुला : नकबजनी चोरी र चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेका फरार दुई जना प्रतिवादीलाई दार्चुला प्रहरीले एकैदिनमा पक्राउ गरेको छ।
विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले सोमवार दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-४ का प्रेमसिंह बुढाथोकी र लेकम गाउँपालिका-१ का एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए।
बुढाथोकीलाई २०८० असोज १५ गते चेक अनादर मुद्दामा जिल्ला अदालत दार्चुलाले २ हजार जरिवाना तोकेको थियो भने लेकम गाउँपालिका-१ का नाबालकलाई नकबजनी चोरी मुद्दामा २०७७ माघ १२ गते २० हजार जरिवानासहित १ वर्ष ११ महिना १२ दिन कैद सजाय सुनाइएको थियो।
उनीहरूलाई मंगलवार जिल्ला अदालतमा पेश गराइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box