काठमाडौंः कुवेतबाट आएकी नेपाली युवतीले विमानको शौचालयमा नवजात शिशुलाई जन्माएर फालेकी छन्।
यूएईको सारजाहबाट काठमाडौं आइपुगेको विमानको शौचालयमा २८ वर्षीया धनमाया रानाले नवजात शिशु फालेकी हुन्।
कुवेतबाट आएकी धनमायाले एअर अरेबियाको उडान नम्बर जी ९ ५३६ बाट बिहान ९ बजे काठमाडौं अवतरण भएको उक्त विमानको शौचालयको कमोडभित्र लुकाई छिपाई जन्माएको बच्चा छाडिएको अवस्थामा फेला परेको हो।
विमान सफाइ गर्ने कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एअरलाइन्सका कर्मचारी र प्रहरीले खानतलास गरेका थिए। प्रहरीले निज राना र शिशुलाई एम्बुलेन्समा राखेर काठमाडौं मेडिकल कलेज, सिनामंगल पुर्याएको छ।
उक्त घटनाका कारण १० बजे उड्नुपर्ने विमान ढिलो हुँदा त्यतिञ्जेलसम्म प्रस्थान कक्षमा रहेका यात्रुलाई प्रस्थान कक्षको प्रतिक्षा हलमा राखिएको थियो।
पासपोर्ट नम्बर ११७९९९३१ की राना कुवेतमा घरेलु कामदारको रुपमा गएकी थिइन्।