काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ।
बुधबार आयोगले मतदाता नामावली स्वीकृत गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। त्यसका लागि ५४९ जना प्रदेश सभा सदस्य र १४९८ जना गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिका प्रमुख-उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो।
स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखतर्फको कूल मतदाता १५०६ जना छन्।
एक जना गाउँपालिका अध्यक्ष, एक जना उपाध्यक्ष र एक जना नगरपालिका उपप्रमुखको निधन भएको छ। त्यस्तै एक जना गाउँपालिका अध्यक्ष र एक जना नगरप्रमुख निलम्बनमा छन्।
उनीहरू आठ जनाको नाम हटाएर कूल १४९८ जनाको नामावली स्वीकृत गरेको हो। आयोगले स्वीकृत मतदाता नामावली आयोगको वेवसाइटमासमेत प्रकाशन गरेको छ।
निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते ती नाम निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित गर्नेछ।
त्यसमा छुटेको भए समावेश गर्न र नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।
त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखको मतभार १९ रहेको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार रहेको छ।