काठमाडौं : हिजो एक कार्यक्रमा धर्मबारे विवादित अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अहिले चौतर्फी आलोचना भइरहेको छ । काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा उनले उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएका थिए ।
सोही अभिव्यक्तिपछि उनी आलोचित बन्न पुगेका छन् । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न दलका शीर्ष नेतादेखि जनताले विरोध गरिरहेका छन् । जिम्मेवार व्यक्तिले धर्मबारे विवादस्पद अभिव्यक्ति दिनू गैरजिम्मवार भएको बताउँदै बर्खास्त गर्नसमेत माग गरिएको छ ।
आफ्नो आलोचना भएपछि तिनै मन्त्रीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन् । बहसका लागि सबैलाई धन्यवाद भन्दै उनले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्नेमा जोड दिएको उनले बताएका छन् ।
‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।