धनगढी : कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत् काम अगाडि बढेको हो।
राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी काम अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताए।
उनका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ। राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उनले बताए।
सडक मर्मत तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान गरिएको र यही पुस मसान्तसम्म अन्तिम म्याद रहेको उनले जानकारी दिए।
पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम हुँदै आएको छ। यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा कालोपत्रमाथि कालोपत्रको लेयर थप्ने काम सात करोडमा ठेक्का सम्झौता गरिएको छ।
ठेक्का सम्झौताअनुसार यो काम मङ्सिर महिनाभित्रै सक्नुपर्नेमा पुस लागिसक्दा पनि सकिएको छैन। निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको उनले जानकारी दिए।
अबको ८/१० दिनमा काम सकिने र त्यसका लागि निर्माण व्यवसायीलाई म्याद थप गर्नेबारे प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिग्देलले बताए।