धनगढी : संघिय मामिला मन्त्रालयबाट पालिकामा आउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबिच विवाद भइरहेको हुन्छ। कतै जनप्रतिनिधिले राम्रो गर्न खोज्दा हाकिम असहयोगी बन्दा विवाद भने कतै हाकिमले राम्रो गर्न खोज्दा जनप्रतिनिधिका निजी स्वार्थ हाबी हुँदा समस्या।
यस्तै समस्या अछामको जयगढ बान्नीगढी गाउँपालिकामा देखिएको छ। सुशासनको सुरुवात गराउने भनेर अनियमिततामा रमाएको आरोप लागेका पालिका अध्यक्ष टेकबहादुर साउँद र उपाध्यक्ष विन्दु रावलको अभिलाषा पूर्ती नहुँदा कार्यकारीको सरुवा गराइएको छ।
हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको बिना कारण सरुवा गराइएको पाइएको हो।
गाउँपालिकामा चोरबाटोबाट अनियमितता गर्ने भन्ने आरोप खेपेका अध्यक्ष-उपाध्यक्षलाई कार्यपालिका कार्यालयका तत्कालीन हाकिम ढुंगानाको व्यवहार मन नपर्दा सरुवा भएको स्रोतको दाबी छ।
तर अध्यक्ष साउदले भने सो कुरा झुटो भएको दाबी गरेका छन्। उनले हाकिम ढुङ्गानाले आफैं सरुवा मागेको जनाए। अध्यक्ष साउद नेपाली कांग्रेस र उपाध्यक्ष रावल नेकपा (एमाले) बाट निर्वाचित भएका थिए।
गत भाद्र १८ गते गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत ढुंगाना ४ महिना नपुग्दै अछामबाट कैलाली आएका हुन्।
उनको अहिले कैलालीको बर्दगोरियामा सरुवा भएको छ। अध्यक्ष र उपाध्यक्षले नियम विपरीत भुक्तानी दिन, सेटिङ्गमा योजना संचालनका लागि दबाब दिन थालेसंगै उनले अछाम छोडेको पनि एकथरी बताउछन्।
ढुंगाना पहिलोपटक अछाम जादा पालिकाका लेखा अधिकृत नारद खनालको डिजाइनमा उनको अस्वभाविक ढंगले स्वागत गरिएको थियो।
त्यसप्रति एक वडा अध्यक्षले असन्तुष्टि व्यक्त गरेपछि गाउँपालिका अध्यक्ष साउँदले मदिराको तालमा वडा अध्यक्षमाथि हातपात समेत गरेको बताइन्छ। यतिमात्र होइन, अध्यक्ष उपाध्यक्षको आडमा लेखा अधिकृत खनालले पनि ढुंगानालाई असहयोग गर्ने गरेका थिए।
निमित्त नियुक्तिको नयाँ विवाद
यस्तै अहिले ढुंगानाको सरुवापछि निमित्त राखिएको विवाद सुरु भएको छ। अध्यक्ष-उपाध्यक्षसहित लेखावाला खनालसहितले जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका बसन्त रावललाई एकलौटी रुपमा जिम्मेवारी दिएको आरोप लागेको छ।
निमित्तको जिम्मेवारी पाएका रावल काँग्रेस निकट तर उपाध्यक्ष रावलका जेठाजुसमेत पर्छन्। उता स्वास्थ्यका अधिकृत रावललाइ अधिकृतको जिम्मेवारी माग गरिएको बिषयमा भने आफू बेखवर रहेको उपाध्यक्ष रावलको दाबी छ।
तत्कालीन हाकिम ढुंगाना हाजिर हुनु पहिले प्रशासन अधिकृत झनक रेग्मीले पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा १७ महिना बढी जिम्मेवारी सम्हालेका थिए।
रेग्मीको मातहतमा रहेर काम गरेका स्वास्थ्य शाखा प्रमुख रावललाइ निमित्तको जिम्मेवारी माग गर्दा पुराना हाकिम रेग्मीसंग सामान्य सोधपुछ समेत गरिएको छैन।
आफू बिदामा धनगढी रहेको बताउदै रेग्मीले कार्यालयमा हाकिम सरुवा भएको र नयालाई जिम्मेवारी दिईएकोबारे आफुलाइ कुनै जानकारी नभएको प्रतिकृया दिएका छन्।