धनगढी : कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता भएको छ। जिल्लाको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो।
विवाह गरेको ४ वर्षपछि उनीहरुको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको हो। यहि पुुस ६ गते मात्रै उनीहरुको विवाह दर्ता भएको हो। पारलैंगिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा पारलैंगिक विवाह दर्ता भएको थिएन।
शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलोपटक पारलैंगिक विवाह दर्ता निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले बताइन्। समलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको समाजका अध्यक्ष गुरुङले बताइन्।
पहिलोपटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मनिलाले खुुशी व्यक्त गरेकी छन्। उनले आफूूलाई विवाह दर्तामा समस्या देखिएको बताउदैँ अव भने कसैलाई समस्या नहोस भनेर भनेकी छन्।
प्रकाश चौधरीले पनि आफूहरूले ठुलो समस्या झेल्दै ४ वर्षपछि मात्रै यो उपलव्धी पाएको बताएका छन्।
उनले समाजमा सबैले आफूलाई चिन्ने गरेको भएपनि कानुनी रुपमा चिनाउन र विवाह दर्ता सम्मको प्रक्रियामा भने समस्या झेल्नुु परेको सुनाए।
विवाह दर्ता भएपछि बच्चाको पनि चाहना भएको बताउदैँ उनीहरूले समलिङ्गी विवाहपछि अब धर्म सन्तान पनि राख्न पाउनुपर्ने बताएका छन्।
यसअघि नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो। त्यो नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता हो।