काठमाडौं: नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको भूपू सैनिक सम्मेलन यस पटक सुनसरी, हेटौंडा र काठमाडौंमा गरिने भएको छ ।
ईटहरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टर, मकवानपुरस्थित श्री मध्य पृतना हेडक्वार्टर र नारायणहिटीस्थित श्री उपत्यका पृतना हेडक्वार्टरमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पूर्वी पृतनामा फागुन ३ गते, मध्य पृतनामा फागुन १० गते र उपत्यका पृतनामा चैत ४ गते भूपू सैनिक सम्मेलन हुँदैछ ।
सैनिक कल्याणकारी निर्देशनालयले तीनवटै पृतना हेडक्वार्टरलाई परिपत्र गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको छ । सम्मेलन सञ्चालनका लागि आवश्यक पर्ने अनुमानित आर्थिक उल्झन शीर्षकगत रुपमा एकमुष्ट तयार गरी परिशिष्ट ‘ख’ अनुसारको फर्म्याटमा पुस १८ गतेभित्र निर्देशनालयमा पठाउन निर्देशन गरिएको छ ।
त्यस्तै, सम्मेलनका लागि तोकिएको उप–सम्मेलन केन्द्रहरुमा संशोधन (फेरबदल तथा थपघट) गर्नुपर्ने भएमा पुनः छनौट गरी पुष्ट्याईसहित पठाउन र भूपू सेनिक सम्मेलन दर्ताको क्रममा वितरण गरिने प्रवेश पास र हाते पुस्तिका (आवश्यक संख्या खुलाई पत्रसहित) यथाशीघ्र निर्देशनालयबाट बुझी लैजाने व्यवस्था गर्न भनिएको छ ।